८ मंसिर २०८१, शनिबार 1732350539
Banner

सभामुख घिमिरे र चिनियाँ सीपीसी केन्द्रीय कमिटीका राजनीतिक सदस्य च्याचिनबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनबीच भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे ।
‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे ।

उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुखको भनाइ छ । उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्‍याएको उल्लेख गरे ।