१० कार्तिक २०८१, शनिबार 1729995510
पालिका

हेटौँडा उपमहानगरमा स्थानीय घरधनी र व्यापारी आन्दोलित

काठमाडौं । हेटौँडा उपमहानगरमा स्थानीय घरधनी र व्यापारी आन्दोलित भएका छन् ।

हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार गर्न अतिक्रमित २५ मिटर दायाँबायाँको घरजग्गा हटाउन सूचना निकालेकामा घरधनी र व्यापारीले आपत्ति जनाएका छन् ।

कुनै कानुनी आधारविना र सर्वोच्च अदालतको फैसलाविपरीत जबर्जस्ती घर भत्काउन खोजेको उनीहरुको आरोप छ ।
विसं २०३०÷३१ मा हेटौँडा नारायणगढ सडक विस्तार गर्नु अगाडि चितवनदेखि हेटौँडापूर्वको राप्तीपुल नजिक चिनीया क्वाटरको दायाँबायाँसम्मका जग्गाको हेटौँडा कररा पुलका केही घरलाई मात्रै मुआब्जा वितरण गरिएको थियो ।

त्यसबेला सडक विस्तार गर्न राप्तीरोडदेखि बुद्ध चोक र चौकीटोलदेखि रातमाटेसम्म बजार क्षेत्र भएका कारण स्थानीयवासीले केही बढी मुआब्जा माग गर्दा त्यतिबेलाको कार्यालयले बढी मुआब्जा नदिएकाले मुआब्जा नलिएकामा अहिले २०८० सालसम्म पनि कानुनबमोजिमको मुआब्जा दिने कुनै काम नभएको अवस्था छ ।

विसं २०७४को चुनावअघि पनि उक्त कार्यालयले २५/२५ मिटर सडक विस्तार गर्न ३५ दिने सूचना निकालेको थियो ।
सर्वोच्च अदालतको आदेशविपरीत सडक डिभिजनले दायाँबायाँ२५/२५ मिटर सडक खाली गर्न सूचना जारी गरेकाले पीडितले आफ्नो व्यवसाय डुब्ने चिन्ताले आन्दोलन गरेका हुन् ।

Tags :