काठमाडौं । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँचबुँदे मापदण्ड बनाएको छ ।
एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयले गरेको सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी निर्णय :
१. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने ।
२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।
३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने ।
४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने ।
५. कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।