११ कार्तिक २०८१, आइतबार 1730016713
Banner

धरानमा सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानवअधिकार आयोगको अपिल

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोगले एक विज्ञप्ति जारी गर्दै सबैमा यस्तो अपिल गरेको हो ।

आयोगले एक आपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह समेत गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दु मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू रोकिएको आयोगको अनुगमनको क्रममा बुझिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको आयोगको भनाई छ । आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको छ ।

‘नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको

बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात् गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।