७ मंसिर २०८१, शुक्रबार 1732270763
समाचार

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ: मन्त्री बस्नेत

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताउनु भएको हो।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो। आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उहाँले बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्नुहुँदै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताउनुभयो। मन्त्री बस्नेतले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि जानकारी दिनुभयो ।

उहाँले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडि बढेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कक्षा १२ सम्म निःशुल्क पढाइ हुनुपर्छ। राज्यले जिम्मा लिनुपर्छ कक्षा १२ सम्मको पढाइ। सिन्धुपाल्चोकको तनि वटा पालिकाबाट १२ कक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको एक वर्षभन्दा बढी भइसक्यो। देशव्यापी रुपमा यो निःशुल्क हुनुपर्छ। यसबारे संसदमा पनि बोलेको छु।’

मन्त्री बस्नेतले भन्नुभयो, ‘मन्त्रिपरिषद्मा पनि कुरा राखेको छु । हामी शिक्षा र स्वास्थ्य संवेदनशील क्षेत्रमा काम गरिरहेका छौँ। हाम्रो सानो मिस्टेकले मान्छेको ज्यान जान्छ। कान्ति बाल अस्पतालमा मान्छेको ज्यान गएको छ एउटा पाँच वर्षको बच्चाको मैले यसलाई स्पष्ट रुपमा भन्नुपर्छ, हाम्रा त्यहाँका सम्बन्धित स्वास्थ्यकर्मीहरुको कमी, कमजोरीले पनि भएको छ। कारबाहीको प्रक्रिया अगाडि बढेको छ । हामीले बेलामा ध्यान दियौँ भने एकजना होइन, हजारौँ हजार मान्छेको हामीले ज्यान बचाउन सक्छौँ। हामी बढी गम्भरी हुन जरुरी छ ।’

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताउनुभयो ।