१० कार्तिक २०८१, शनिबार 1729952437
Banner

नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशन तयारी पूरा

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनको तयारी पूरा भएको छ ।

आज दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो ।

उद्घाटन सत्रमा करिब पाँच हजारको सहभागिता रहने बताइरहेको एमाले प्रदेश कमिटीले हलभित्र नअट्ने देखिए पनि हलको बाहिर फिल्डमा पनि टेन्ट टाँगेर कुर्सीको व्यवस्थापन गरिएको छ ।

अध्यक्ष केपी ओली काठमाडौँबाट नेपालगन्ज विमानस्थलमा उत्रने छन् । त्यसपछि उनी कोहलपुर रत्नराजमार्ग हुँदै सुर्खेत आउने कार्यतालिका छ ।
ओलीसँग महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनेछन् ।

अधिवेशनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने एमालेले ४० जना स्वयम् सेवक समेत खटाइरहेको युवा नेता रुद्र शाहीले जानकारी दिए ।

बुधबार र बिहीबार हुने अधिवेशन सकेसम्म सर्वसम्मत तरिकाले सम्पन्न गर्ने प्रयास गरिए पनि नेताहरूको आ–आफ्ना अडानका कारण निर्वाचन हुने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन् ।

नेतृत्वको लागि यहाँ यामलाल कँडेलको टिमका गुलाबजंग शाह, गोरख बोगटीको टिमबाट मीनबहादुर शाही र पूर्व सभामुख राजबहादुर शाहीको नाम चर्चामा छ।