काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुने भएको छ ।
पार्टी मुख्यालय च्यासलमा हुने मतदान बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको एमालेले जनाएको छ ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको एमालेले जनाएको छ । निर्वाचनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशवराज पाण्डे, रामेछापका केशबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।
भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ। एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन्। अध्यक्षमा पाँच जनाकै उम्मेदवारी रहे पनि प्रतिस्पर्धा कृष्ण दाहाल र कैशाल ढुंगेलकैबीचमा देखिने एमाले नेताहरूले बताएका छन्।