९ कार्तिक २०८१, शुक्रबार 1729908817
Banner

उत्कृष्ट कार्य गरेको भन्दै वालिङ नगरपालिकाले पायो पाँच हजार डलरको एक्सिलेन्स अवार्ड

काठमाडौं । उत्कृष्ट कार्य गरेको भन्दै वालिङ नगरपालिकाले पाँच हजार डलरको एक्सिलेन्स अवार्ड २०२३ पाउने भएको छ । एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह (युसिएलजी–एसियाप्यासिफिक) बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने लागेको हो ।

अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले नगर प्रमुख कृष्ण खाँणलाई पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड जितेको बताउनुभएको हो ।

नगरप्रमुख कृष्ण खाँणले एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएको बताउनुभयो । उहाँले नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।

नगर बासीहरूको सहयोग,कर्मचारीहरूको तदारुकता र जनप्रतिनिधिहरूको समर्पणले वालिङ सम्पत्ति बनेको बताउदै खाँणले अभियानलाई अझै उचाइमा लैजान फोहोरलाई पूर्ण रूपमा आम्दानीको स्रोतको रूपमा परिणत गर्न आवश्यक सबै कदमहरू अगाडि बढाउने बताउनुभयो । सरसफाइको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरूको सही पालना तथा कार्यान्वयनको लागि नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख खाँणको भनाई थियो।

पुरस्कार १३–१५ नोभेम्बर २०२३ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।