काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक क्षेत्रआसपास ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञाको घोषणा गरेका हुन् । यसनुसार पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डलाई चार किल्ला आधार बनाएर निषेधित क्षेत्र तोकिएको हो ।
ललितपुर जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार अब मंसिर ५ गतेदेखि ६ महिनासम्मका लागि यस क्षेत्रमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा मानिसहरु भेला भएर नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । ललितपुर प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३।क० बमोजिम यस्तो आदेश जारी गरिएको जनाएको छ ।