काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नहुँदा जनता निराशा देखिएको बताएका छन ।
माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे । संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन राष्ट्रपति पौडेलको आग्रह थियो ।
नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको भन्दै उनले भने, ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ’ । पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए ।