९ मंसिर २०८१, आइतबार 1732433112
Banner

समाजमा अनुशासनको कमी : अध्यक्ष ओली

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताउनुभएको छ । नेपाल खेलकुद महासङ्घको दोस्रो बैठकलाई आज ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उहाँले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरु क्षेत्र नभएको बताउनुभयो । “अहिले खेलाडी बाहेक अरुमा अनुशासन कम देखिन्छ ।

खेलमा जस्तो अरु क्षेत्रमा पनि अनुशासन चाहिन्छ । त्यो अनुशासनलाई हामीले समाजिक मान्यताको रुपमा अगाडि बढाएर लैजानु पर्दछ,” उहाँले भन्नुभयो । उहाँले सबैले अनुशासित भएर जीवन बिताउनुपर्नेसमेत आग्रह गर्नुभयो । अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताउनुभयो । देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने भनाइ उहाँले राख्नुभयो । “नेपाल देश छ र हामी छौँ । नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले सङ्गठन सुदृढीकरणका लागि खेलकुद महासङ्घ लाग्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष परशुराम बस्नेतले खेलकुदसँगै युवालाई पार्टीमा आकर्षण गराउने बताउनुभयो ।