४ आश्विन २०८१, शुक्रबार 1726871053
Banner

विपदमा परी दुई दिनमा १८ जनाको मृत्यु,१६ घाइते

काठमाडौँ- बाढी पहिरो जस्ता प्राकृतिक विपदमा परी हिजो बिहानदेखि आज साँझ सम्ममा  देशभर १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । देशैभर मनसुनी वायूको प्रभाव रहेकाले बाढी, पहिरो तथा भू-क्षय जस्ता सम्भावित क्षतिबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ .

अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथारका एकै परिवारका चारजना र दोर्दीमा एकजनाको मृत्यु भएको हो । बगुमस्थित पच्यु टोलमा पहिरोमा परेर रूद्रमान गुरूङ पञ्चकुमारी गुरूङ, ईच्छा गुरूङ र नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मध्यरातमा पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ बजेपछि मात्रै शव फेला परेको थियो । त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमा सुतिरहेका १६ बर्षिय विकल सुनार र उनका दाजु १८ वर्षिय विमल सुनार पहिरोमा परेर गम्भीर घाईते भएका थिए ।

उपचारको लागि लमजुङ अस्पताल ल्याउदै गर्दा विकलको मृत्यु भएको हो । त्यसैगरी चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा एक जनाको मृत्यु भएको छ । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२७ आरुपाटामा पहिरोले घर भत्किँदा तीन वर्षका अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले घर र गोठ पुरिँदा ओखलढुंगामा पनि एक जनाको ज्यान गएको छ । चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३५ वर्षीय देव कुमारी खत्रीको घटना स्थलमै मृत्यु भएको हो । लगातारको वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । गए राति देखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ । मनसुनी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ । देशका पूर्वि भागमा अझै तिन दिन सम्म भारी वर्षा हुने विभागले अनुमान गरेको छ असार १० गते देखी देशैभर मनसुन फैलिएको छ । देशका पूर्वि जिल्लाहरुमा भारी वर्षा हुनुका साथै पश्चिमी भागहरुमा पनि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।