१२ मंसिर २०८१, बुधबार 1732738308
Banner

चितवनमा पहिरोले दुई वटा बस बगायो, एक जनाको मृत्यु

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।​ विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर बगाएको डिएसपी रिजालले बताए। त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको छ। त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ। उक्त बसमा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ।

माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं ेजाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए ।

उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्। पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ।