३ आश्विन २०८१, बिहिबार 1726727885
Banner

गृह मन्त्रालयमा मेरो नजर २४ सै घण्टा रहनेछ : लामिछाने


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । प्रचण्ड सरकार ढलेपछि जाँदा जाँदै आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।उनले अब आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको गृह मन्त्रलयमा बाहिर बसे पनि २४ सै घण्टा रहिरहने बताए ।

उनले भने, ‘प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन्, आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा, मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’

गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे । उनले काम गर्ने क्रममा आफ्नो हतारोका कारण कहीँ कतै चोट लागेको भए क्षमा दिन आग्रह गर्दै आफूले केही ख्याति कमाएको भए पनि प्रहरी कर्मचारीको सहयोगकै कारण पाएको बताए ।