६ आश्विन २०८१, आइतबार 1727001385
Banner

बाढीपहिरो लगायतका विपदले हालसम्म १५४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १५४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार यसका साथै कर्णाली प्रदेशमा ५१ जना, कोशी प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा ३४ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ११ जना, मधेश प्रदेश र काठमाडौं उपत्यकामा १०–१० जना गरेर जम्मा १८६ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरी प्रवक्ता डीआईजीपी कार्कीले बताए । उनका अनुसार कोशी प्रदेशमा ४९ जना, काठमाडौं उपत्यकामा २६ जना, गण्डकी प्रदेशमा १४ जना, बागमती प्रदेशमा १२ जना, सुदूरपश्चिाम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना गरेर जम्मा १०८ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी बागमती प्रदेशमा ४२ जना, कोशी प्रदेशमा २ जना, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १–१ जना गरी ४७ जना वेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने २६१ घर, ९५ गोठ, ४३ पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस्तै ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । यसै अवधिमा विपद्का घटनाबाट ४ हजार २३८ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा भइरहेको र विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।