७ आश्विन २०८१, सोमबार 1727078877
Banner

सिआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सिआईपी सम्मान (व्यवसायिक महत्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गरेका छन् । शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्नसके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने बताए । उनले सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गरे ।

उनले नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट उद्योगी, व्यवसायीहरुले दुःख पाइरहेको बताए । उनले आवश्यक भएको ठाउँमा नीतिहरु परिवर्तन गरी समय सापेक्ष बनाउन माग गरे । उनले दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारपछि निजी क्षेत्रले लगानी गर्ने मनोबल बढाएको बताए । उनले निजी क्षेत्रलाई सँगै लिएर जानसके मात्रै सरकार सफल हुने बताए ।

उनले भने, ‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्नेकुरा राख्न चाहन्छु । माननीय मन्त्रीज्युले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्युले जुन इन्करेज गर्नुभयो । त्यसको लागि मन्त्रीज्यु र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु ।

श्रीमान सचिवज्यु वास्तवमा यो सिआईपीको डेट फिक्स गरौँ । यो दिन नेपाल सरकारले सिआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ । यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ । जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ ।’