४ आश्विन २०८१, शुक्रबार 1726871253
Banner

जीर्ण बन्दै चिसापानी-सोल्टा सडक

घोडाघोडी (कैलाली) : कैलालीको कर्णाली चिसापानी सोल्टा सडक जीर्ण बन्दै गएको छ । सुदूरपश्चिमको अछामसहित कर्णालीका आधा दर्जन जिल्ला पुग्न छोटो दूरीका रूपमा प्रयोग गरिने सोल्टा सडक जीर्ण बन्दै गएको हो । कैलालीबाट कोहलपुर हुँदै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्न करिब छ घण्टा लाग्छभने यो सडकबाट आधा समयमा वीरेन्द्रनगर पुग्न सकिन्छ । अछाम सदरमुकाम मङ्गलसेन पुग्न पनि यो सडकबाट झन्डै आधा दूरी कम हुन्छ । अछाम, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगुसम्म अहिले पनि छोटो मार्गको रूपमा यही सडक प्रयोग हुँदै आए पनि सडक भने जीर्ण बन्दै गएको छ । सडक जीर्ण हुँदा हिँड्डुलमा सास्ती खेप्नु परेको स्थानीय पार्वती शाह खड्काले बताउनुभयो ।

“३० वर्षपहिलेदेखि यो सडकमा हिँडिरहेको छु”, उहाँले भन्नुभयो, “सडकको अवस्था अहिले पनि जस्ताको तस्तै छ ।” सामान्य झरीले पनि पहिरो गएर सडक अवरुद्ध हुने गरेको सड्काले बताउनुभयो । सडक जीर्ण हुँदा जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको गाडी चालक दीपक भण्डारीले बताउनुभयो । चिसापानीबाट सुर्खेतको गुटु, बाबियाचौरसम्म गाडी चलाउने गरेको बताउँदै उहाँले भन्नुभयो, “सानोतिना अवरोध हटाएर गाडी सञ्चालन गर्दै आएका छौँ । पैदन यात्रीलाई पनि सास्ती हुने गरेको छ ।” प्रत्येक वर्ष बजेट विनियोजन भए पनि प्रभावकारी काम नभएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । स्थानीय सरकारलाई पटकपटक सडक स्तरोन्नति गर्न माग गरे पनि सुनुवाइ नभएपछि दबाबसँगै श्रमदानमार्फत सडक स्तरोन्नति गर्ने उद्देश्यले ‘चिसापानी सोल्टा सडक मर्मत अभियान’ सञ्चालन गरिएको छ ।

शनिबारदेखि सुरु भएको अभियानमा सयौँ स्थानीयले सडकमा ढुङ्गा मिलाउने, पहिरो आएको स्थानमा पहिरो हटाउने, जेसिभीको प्रयोग गर्दै साँघुरो ठाउँलाई खुल्ला गराउनेलगायत काम गरिरहेका एमालेका युवानेता वीरेन्द्रबहादुर रावलले बताउनुभयो । “सडक स्तरोन्नतिको दबाब दिन अभियान थालेका छौँ । यसमा स्थानीयले पनि साथ दिनुभएको छ, अभियानका क्रममा सडक सुधार भइरहेको छ ।” सडक सुधारका लागि जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले जेसिभी उपलब्ध गराउनुभएको छ । पहिलो चरणमा कुइनेसम्मको सात किलोमिटर सडक सुधार गर्ने योजना रहेको उहाँले बताउनुभयो । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जनश्रमदानमार्फत सडक मर्मत गर्न लागिएको उहाँको भनाइ छ ।