९ मंसिर २०८१, आइतबार 1732447317
राजनीति

‘पूर्णबहादुरको सारङ्गी’ राम्रो बनेको रहेछ : मन्त्री राणा

काठमाडौँ । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को कथावस्तु, निर्माण शैली, प्रस्तुति धेरै राम्रो रहेको बताएका छन् । शुक्रबार कमल पोखरीस्थित सिटी सेन्टरमा चलचित्र हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । फिल्म निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दसैँ, तिहारका बेला प्रदर्शन भएका फिल्मले दर्शकको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे ।

प्रयास गर्दा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने तथ्य प्रमाणित भएको भन्दै मन्त्री राणाले विगतमा आफूले निर्माण गरेका फिल्मलाई दर्शकले तत्कालीन समयमा माया गरिदिएको स्मरण गरे । राम्रा फिल्मले नेपाली चलचित्र उद्योगलाई माथि लान टेवा पुग्ने उनको भनाई थियो । नेपाली फिल्म उद्योगलाई बलिउडले प्रभाव पारिरहेको अवस्थामा नेपाली फिल्मप्रति दर्शकले देखाएको सदभावलाई बचाउने दायित्व निर्माता, कलाकार, फिल्म हल सञ्चालक सबैको रहेको मन्त्री राणाले बताए । मन्त्री राणाले लुम्बिनी प्रदेशमा फिल्म छायाङ्कनका लागि पनि आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा फिल्म छायाङ्कन गर्दा आफूबाट हुन सक्ने सहयोग रहने समेत मन्त्री राणाले बताए ।