४ आश्विन २०८१, शुक्रबार 1726827352
Banner

गगन थापालाई ओलीको कटाक्ष, ‘ट्यूसन पढाउँछु भन्नेले एमालेका भाइबहिनीसँग बहस गरेर देखाउनु’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई ‘एमालेका भाइबहिनीसँग बहस गर्न’ चुनौती दिनु भएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमालेको घोषणापत्र र उम्मेदवारबारे बहसमा उत्रन कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु तयार छन् भने हामी तयार छौं । भर्खर पास गरेका भाइबहिनी भिडाइदिन्छौ ।’

नेपाली कांग्रेस गन्तव्यहीन पार्टीका रुपमा स्थापित भएको भन्दै अध्यक्ष ओलीले कांग्रेसको हालत देख्दा आफूलाई टीठ लागेको बताउनु भयो ।

‘कांग्रेस कुनै गन्तव्य भएको पार्टी होइन । विचार शून्य, गन्तव्यहीन कुहिराको काग हो । कुहिराको कागको उद्देश्य पेट भर्ने मात्रै हो । कांग्रेस कुहिरोको काग भएको देख्दा मलाई टीठ लाग्छ’, ओलीले भने ।

उहाँले कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको हाँक दिन नमिल्ने बताउनु भयो ।