काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताइएकी छिन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उनले सो जानकारी दिएकी हुन्।
उनले भनिन्, ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ। यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ।’
एक प्रश्नको जवाफमा मन्त्री डा राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गरिन्।
उनले भनिन्, ‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ। त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ।’
मन्त्री राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको भन्दै यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताइन्।