काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


