काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । यस्तै, कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेको हो । नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । अहिले भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । अन्य ठाउँमा कतै हल्का वर्षा त कतै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरू प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।
महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । आज शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ । प्रणालीको प्रभावले असार १६ गतेसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनीका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।
सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


