काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२०८३ को लागि मन्त्रालयका गृह सचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर क्राइम नियन्त्रणमा पहिलो वर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताए ।
लागूऔषध, सडक दुर्घटना, साइबर क्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रूपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला”,उनले भने“यो वर्ष परिणाम दिने गरी काम गर्नुपर्छ ।”
त्यसैगरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आकलन भइरहेको भन्दै चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए ।उनले गत आर्थिक वर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे ।
अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्” गृहमन्त्री लेखकले भने,“सीमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।”
कार्य सम्पादन सामूहिक काम भएको बताउँदै उहाँले जस/अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिए ।त्यसैगरी मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक अघि बढाएको बताउँदै प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको बताए ।
“पाइपलाइनमा रहेका कानुन विधेयक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाडि बढाउनुस्”उनले भने,“मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोही अनुसार काम अघि बढेको छ ।”


