काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने र सरकार गठन भएको पाँच दिनभित्रै समाजवाद निर्माणको घोषणा गर्ने राजनीतिक लक्ष्य अघि सारेका छन्। उनले समाजवाद उन्मुख जस्ता अमूर्त नाराले मात्र जनतालाई आकर्षित गर्न नसकिने भन्दै ठोस कार्यक्रम र प्रतिबद्धताका साथ जनतामा जानुपर्ने बताए। पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले अबको समाजवादी क्रान्ति हतियार उठाएर नभई जनताको मतबाट हुने स्पष्ट पारे।
‘जनवादी क्रान्ति सम्पन्न भइसकेपछि अब अर्को समाजवादी क्रान्ति हुँदैन, अब समाजवाद निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसका लागि हामीले ८४ को निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्छ र सरकार बनेको ५ दिनभित्र हामी समाजवाद निर्माणमा गयौं भनेर घोषणा गर्नुपर्छ।’ उनले समाजवाद उन्मुख भन्ने पार्टीको वर्तमान नीतिप्रति कटाक्ष गर्दै भने, ‘समाजवाद उन्मुख भनेको के हो ? चीनतिर फर्किने कि भियतनामतिर ? यो भनेको जनतालाई भुलाउने कुरा मात्र हो।’ उनले अब पार्टीले जनतालाई ‘हाम्रो कबुलियतनामा यो हो’ भनेर स्पष्ट खाका दिनुपर्नेमा जोड दिए।


