५ आश्विन २०८१, शनिबार 1726898935
पालिका

खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने

काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ।

गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै भएको पहिलो कार्यपालिकाको बैठकले संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषण गरेपनि गाउँपालिकाले भने नदिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले कार्यपालिका बैठकबाट पालिका कार्यालय, वडा कार्यालयसँगै शैक्षिक संस्थाहरु शनिबार बाहेक नियमित सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

अध्यक्ष थिङले सेवाग्राहीको हित र विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर आइतबार बिदा नदिने निर्णय गरेको बताए। उनले भने, ‘पालिकाभित्रका सबै कार्यालय र विद्यालयहरु शनिबार बाहेक आइतबार–शुक्रबार नियमित सञ्चालन हुनेछन्।’

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो।