१२ श्रावण २०८३, मंगलबार 1785296759
समाचार

खगेन्द्र सुनारसहित रास्वपा सांसदहरू रातभरि धर्नामा

काठमाडौँ : सिन्धुलीमा अन्तरजातीय विवाह गरेको आरोपमा पक्राउ परेका दलित युवा श्रीकृष्ण विक को प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको घटनाले गम्भीर विवाद सिर्जना गरेको छ।

पीडित पक्षका अनुसार पक्राउपछि उनलाई प्रहरी हिरासतमा कुटपिट गरिएको र सोही कारण मृत्यु भएको आरोप लगाइएको छ। मृतककी आमाले घटनालाई दबाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दबाब दिएको दाबी गरेकी छन्। हाल मृतकको शव सिन्धुली अस्पतालमा राखिएको बताइएको छ।

घटनापछि सरोकारवाला निकायसहितको टोली स्थलगत अध्ययनका लागि सिन्धुलीतर्फ जाने तयारीमा रहेको जनाइएको छ। पीडित पक्षले सत्य तथ्य बाहिर नआएसम्म शव नउठाउन आग्रह गर्दै प्रहरी–प्रशासनलाई कुनै पनि प्रकारको दबाब नदिन चेतावनी दिएको छ।

यस घटनाको विरोधमा विभिन्न सांसदहरूले जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा अनिश्चितकालीन धर्ना सुरु गर्ने घोषणा गरेका छन्।उनिहरुले खुर्कोट इलाका इन्स्पेक्टर र ड्युटी कमाण्डरलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने, प्रहरीको उच्चस्तरीय आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने, जाहेरवालामाथि जातीय हिंसाअनुसार कारबाही गर्नुपर्ने माग राखेका छन । खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल धर्नामा बसेका छन् ।