काठमाडौं । वि.सं. २०३८ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रमका लागि प्रहसन तयार गर्ने क्रममा पहिलो पटक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहकार्य भएको भएको थियो।
महजोडी नाम भने एकपटक बिज्ञापन नाटक प्रदर्शनको क्रममा उद्घोषक राजाराम पौडेलले अब आउंदै छ महजोडी। मह जस्ता गुलिया, म भनेको मदन कृष्ण र ह भनेको हरिवंश आचार्य भन्दै न्वारन गरिदिएका थिए। त्यस दिन देखि यहि नामले निरन्तरता पाइरहेको छ।

वरिष्ठ गायक रूबी जोशी त्यतिबेला नेपाल राष्ट्र बैङ्कको प्रथम श्रेणीका अधिकृत थिए । फुपाजुको छिमेकि भएकै कारण उनीसँग बारम्बार भेट भइरहन्थ्यो । एकपल्ट भेटका क्रममा दाइले यसपालि राष्ट्र बैङ्क २५ वर्ष पुगेको उपलक्ष्यमा भव्य समारोह हुँदै छ जसमा राजा वीरेन्द्र मुख्य अतिथि बन्दै छन् । उक्त कार्यक्रममा राष्ट्र बैङ्क भित्रकै कलाकारबाट केही सास्कृतिक प्रस्तुति हुँदै छ । एकदुईजना कलाकार बाहिरबाट पनि लिने कुरा छ। तिम्रो नाम पनि राखिदिऊँ ? उनको प्रस्ताव सुन्नेबित्तिकै मैले हुन्छ भनिदिएँ ।
सोधे, अर्को एकजना कलाकार कसलाई राख्दा राम्रो होला ? मैले हरिवंश आचार्यको नाम सुझाएँ। यसअघि रेडियो नेपालबाट प्रसारण हुने रसरंग कार्यक्रममा बज्ने रेडियो नाटकमा मैले हरिवंशको क्षमता देखिसकेको थिएँ । कैयौं गाइजात्रा कार्यक्रममा हरिवंश र मैले आआफ्नै तरिकाले छुट्टाछुट्टै प्रस्तुति पनि गरिसकेका थियौं । हरिवंशका प्रत्येक प्रस्तुति हेरेर म पेट मिचीमिची हाँस्थे । त्यही भएर मैले सजिलैसँग हरिवंशको नाम लिएँ ।
दाइले मेरो प्रस्ताव माने र उनकै सल्लाहअनुसार हरिवंश र मैले छुट्टाछुट्टै प्रस्तुतिको ढाँचा बनाएर लग्यौ । त्यसरी दुईजनाको छुट्टाछुट्टै प्रस्तुति देखाउँदा समय नपुग्ने भयो। किनभने, त्यसताका राजा प्रमुख अतिथि भएको कार्यक्रम ९० मिनेटभित्र सम्पन्न गरिसक्नुपर्ने दरवारको कडा नियम थियो । यही समय सीमाका कारण रूबी दाइले भने, दुवैजनाले अलगअलग कार्यक्रम देखाउनुको सट्टा एउटै कार्यक्रम बनाएर देखाउँदा के हुन्छ ?
दायाँबायाँ केही नसोची हामीले ठीकै हुन्छ भनिदियौ ।
त्यसपछि हरिवंश र म प्रहसनको ढाँचा बनाउन जुट्यौ । हामीले बैङ्कसम्बन्धी विषय नै समावेश गरेर बैङ्केश्वर शीर्षकमा प्रहसनको स्क्रिप्ट तयार पार्यौं । यो नै हरिवंश र मेरो पहिलो सहकार्य थियो । बि सं २०३८ साल वैशाख १४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राजा वीरेन्द्र र रानी ऐश्वर्यको प्रमुख आतिथ्यमा हामी दुईले प्रहसन प्रस्तुत गर्यो । उक्त प्रहसनमा हामीले चौरमा घाँस खाइरहेको अर्काको माप्पाको भैसीलाई आफ्नो भैसी भनेर देखाउँदै कृषि विकास बैङ्कलाई झुक्याएर ऋण लिने योजना बनाइरहेको दुई जाली मान्छेको अभिनय गरेका थियौ ।
कार्यक्रम अत्यन्त रमाइलो र राम्रो भयो । हाम्रो प्रस्तुति हेर्दै राजारानी मज्जाले हाँसे । प्रस्तुति रमाइलो र सान्दर्भिक भएका कारण हामीले सबैबाट खुबै बधाई पायौ । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गाईजात्रा महोत्सव नजिकिंदै थियो । यसअघिका प्रत्येक गाईजात्रा महोत्सवमा हरिवंश र म आआफ्नै ढङ्गले हास्य प्रस्तुति दिँदै आएका थियौं । तर, राष्ट्र बैङ्कको कार्यक्रममा हामी दुईको जोडी खुबै बनेकाले सोही वर्षको भदौमा हुने गाईजात्रा महोत्सवमा पनि सँगै मिलेरै प्रस्तुति गर्न सहमति भयो । हामीले आधा घन्टा लामो यमलोक नामक प्रहसन तयार पारेर महोत्सवमा भाग लियौं ।


