विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका–५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्ध शान्ति नगरपालिका–१ का हरिप्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका–९ स्थितबाट सोही स्थानका विकल राईलाई ७० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लाल पत्ताले त्रियुगा नगरपालिका–१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका–३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । पक्राउ परेको सबै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


