२४ बैशाख २०८३, बिहिबार 1778186017
अर्थ

गुगल क्लाउडसँगको रणनीतिक साझेदारीमा नेपालमा डेटा सेन्टर स्थापना गर्ने

काठमाडौं । नेपालमा गुगल भित्रिने भएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा नेपालमा डेटा सेन्टर स्थापना गरिने भएको हो ।

नेपालका औद्योगिक घरनाको संयुक्त लगानी रहेको बिचुटेन डेटा भोल्टले गुगल क्लाउडसँगको रणनीतिक साझेदारीमा काठमाडौंको चोभार र वीरगञ्जमा डेटा सेन्टर निर्माण गर्न लागेको हो ।

चोभारमा अगस्टदेखि डेटा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । माइक्रोन, एएमडीसहितका अन्तर्राष्ट्रिय साझेदारको उपस्थितिमा आज बिचुटेन डेटा भोल्टेजले यसको औपचारिक घोषणा गरेको छ । बिहीबार नेपाली उद्यमीहरु नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले उक्त डेटा सेन्टर निर्माणको घोषणा गरेको हो । त्यसका लागि गुगल, भीभीडीएनका प्रतिनिधिहरु पनि काठमाडौं पुगेका छन् । बिचुटेन डाटा भोल्टले नेपालकै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने भएको हो ।

डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ कम्पनीले नेपालमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो । नेपाललाई दक्षिण एसियाकै एक विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्यका साथ कम्पनीले यो परियोजना अघि सारेको हो ।

सर्टिफाइड टियर ४ मापदण्डको डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्ने दाबी गरिएको छ । यसको अर्थ वर्षभरीमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्नेछ, जुन बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

गुगल क्लाउड भनेको गुगलले प्रदान गर्ने क्लाउड कम्प्युटिङ सेवा हो । यसले कम्प्युटिङ, डेटा स्टोरेज, डेटा विश्लेषण र मेसिन लर्निङका साथै व्यवस्थापनको सेरिज नै प्रदान गर्दछ । गुगल सर्च र गुगल डक्सका लागि आन्तरिक रुपमा प्रयोग हुने पूर्वाधार पनि गुगल क्लाउडकै हो । बिचुटेनको अर्को रणनीतिक साझेदार भारतको भीभीडीएन टोक्नोलोजी हो । यो कम्पनीले अमेरिका र एशियाका मुख्य आइटी हबहरुमा बलियो पकड जमाएको छ । यो कम्पनीले बिचुटेनका लागि क्लाउड इन्जिनियरिङ सेवा प्रदान गर्छ । साथै, भीडीएनले यसअघि गुगल क्लाउडसँग समेत काम गरिसकेको छ ।