११ जेष्ठ २०८३, सोमबार 1779730382
राजनीति

उपयुक्त समयमा प्रधानमन्त्री बालेन शाहको भारतसहित अरू देशको भ्रमण हुन्छ : सरकारका प्रवक्ता

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको वैदेशिक भ्रमणका सम्बन्धमा यस्तो बताएका हुन् ।

प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यूको भारत जाने वा अन्य कुनै पनि देश जाने समय जतिखेर आउँछ, त्यतिबेला भ्रमण हुन्छ। अहिले उहाँ भारत मात्र नभई कतै पनि जानुभएको छैन।’

उनले वर्तमान सरकार अहिले आफ्नो कार्यसम्पादनको सुरुवाती चरणमा रहेको र आन्तरिक काममा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए।

‘अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै छ। सुरुमा हामी सबै काममा अलि बढी केन्द्रित (फोकस्ड) छौँ। त्यसैले अहिले प्रधानमन्त्रीज्यूको भ्रमण नभएको हो, यसलाई सभापतिज्यू ९रवि लामिछाने०को भ्रमणसँग जोडेर हेर्नु आवश्यक छैन, प्रवक्ता पोखरेलले भने ।