११ जेष्ठ २०८३, सोमबार 1779731717
राजनीति

सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन : सरकारका प्रवक्ता पोखरेल

काठमाडौं : सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुुनुहन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने ।

उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभइ अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको प्रष्ट पारे ।  सरकारको पहिलो प्राथमिकता सुरुका सय दिनमा गरिने काममै रहेकाले अहिले भ्रमणमा प्राथमिकता नरहेको जिकिर उनले गरे ।

‘प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारतमात्रै नजानुभएको होइन,’ पोखरेलले भने, ‘अहिले विदेश कहिँ पनि जानुभएको छैन । अहिले पहिलो सय दिनको कार्यव्यस्तता धेरै छ । सुरुमा काममा बढी फोकस पनि छौं ।’