१४ जेष्ठ २०८३, बिहिबार 1779994207
समाचार

सिंहदरबारमा नीलो रंगको नयाँ संसद् भवन डिजाइनबारे बहस

काठमाडौं : सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको संघीय संसद् भवन अब बैठक सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ। भित्री सजावट र प्राविधिक कामहरू सम्पन्न भएसँगै आधुनिक संरचनासहितको यो भवन औपचारिक प्रयोगको चरणमा प्रवेश गर्दैछ।

तर भवनको सौन्दर्यभन्दा बढी अहिले यसको आन्तरिक रंग संयोजनले सबैको ध्यान तानेको छ। विशेषगरी मुख्य हललगायतका भागहरूमा नीलो रंगको व्यापक प्रयोग देखिएपछि त्यसबारे विभिन्न कोणबाट चर्चा सुरु भएको छ।

संघीय संसद् भवनको नयाँ संरचना, विशेषगरी भित्री रंग संयोजन र डिजाइन शैली, अहिले सार्वजनिक बहसको केन्द्रमा छ। सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको यो भवन आधुनिक सुविधासहित औपचारिक प्रयोगका लागि तयार हुँदैगर्दा, यसको सौन्दर्य र प्रतीकात्मक पक्षले अपेक्षाभन्दा बढी राजनीतिक र सामाजिक टिप्पणीहरू निम्त्याएको देखिन्छ।

यस विषयलाई राजनीतिक संकेतसँग जोडेर पनि सामाजिक सञ्जालमा बहस चलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नीलो रंगलाई जोडेर गरिएका व्याख्याले पनि बहस थप चर्काएको छ।

यो नयाँ भवनमा पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन्। मुख्य हललगायतका भागमा नीलो रंगको व्यापक प्रयोगले केवल डिजाइन निर्णयको विषयभन्दा पनि माथि उठेर प्रतीकात्मक अर्थ खोजिन थालेको छ। सामाजिक सञ्जालमा यसलाई विभिन्न राजनीतिक दल वा नेतासँग जोडेर व्याख्या गरिँदै आएको छ। यसरी सार्वजनिक संरचनाको सौन्दर्यमासमेत राजनीतिकरण हुने प्रवृत्तिको देखिएको छ।

रंगको होइन, सार्वजनिक स्रोतबाट निर्माण हुने यस्ता महत्वपूर्ण संरचनाहरूमा डिजाइन, परामर्श र निर्णय प्रक्रिया कति पारदर्शी र व्यावसायिक थियो भन्ने हो। संसद् भवन केवल भौतिक संरचना मात्र होइन, लोकतान्त्रिक अभ्यासको प्रतीक पनि हो। त्यसैले यसको आन्तरिक स्वरूपले ‘कार्यकक्षीय उपयुक्तता’ र ‘संस्थागत गरिमा’ दुवै प्रतिबिम्बित गर्नुपर्ने अपेक्षा स्वाभाविक मानिन्छ।

नयाँ संसद् भवनमा पर्दा, भित्ता, कार्पेटदेखि सोफासम्म नीलो रंगकै प्रमुखता देखिन्छ। यसले भवनलाई एकरूप आधुनिक रूप दिएको भएपनि केही सांसद र आलोचकहरूले यसलाई संसदीय वातावरणसँग कत्तिको मेल खान्छ भन्ने प्रश्न उठाएका छन्। कतिपयले हलको संरचना ‘फिल्म हल’ जस्तो भएको टिप्पणी गर्दै सिट र टेबलको डिजाइनमाथि समेत असन्तुष्टि जनाएका छन्।

केही सांसदहरूले हलको स्वरूपलाई लिएर उठाएका प्रश्नहरूले पनि यही बहसलाई बल दिएका छन्। के यो संरचना दीर्घकालीन संसदीय आवश्यकताअनुसार डिजाइन गरिएको हो ? के सिट, टेबल, र समग्र लेआउट निर्णय प्रक्रियामा पर्याप्त परामर्श भएको हो ?

एमाले सांसद ऐन महरले संसद फिल्म हल नभएको भन्दै कटाक्ष गरेका थिए। सांसद महरले प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरेका छन्। उनले हलका सिटहरू फिल्म हलजस्ता र टेबलहरू कक्षाकोठाजस्ता बनाइएको आरोप लगाए।

उनले भने, ‘धेरै ठूलो लगानीमा र धेरै समय लगाएर बनाएको भवन दिर्घकालीन महत्वको भवनलाई सही ढंगले सञ्चालन गर्ने, सोही ढंगले व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ। त्यो प्रतिनिधिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्। त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ, टेबल कक्षाकोठाका जस्ता बनाइएका छन्। त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ।’

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थित संसद् भवन आगजनीबाट क्षतिग्रस्त भएपछि अहिले अस्थायी हलमा बैठकहरू सञ्चालन हुँदै आएका छन्। सोही पृष्ठभूमिमा सिंहदरबार परिसरमा नयाँ स्थायी हल तयार पारिएको हो, जसलाई अब आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने स्थानका रूपमा समेत प्रयोग गर्ने तयारी छ।

संघीय संसद् भवनले अब औपचारिक प्रवेशको चरणमा पाइला टेक्दै गर्दा यसको डिजाइन, रंग र संरचनाबारे उठेका प्रश्नहरूले भने भवनको भौतिक उपस्थितिभन्दा बढी यसको प्रतीकात्मक अर्थ र संस्थागत उपयुक्ततामाथि बहस बढाइरहेका छन्।