२४ जेष्ठ २०८३, आइतबार 1780831846
समाचार

सडक दुर्घटना न्यूनीकरण गर्न ‘शुभयात्रा अभियान’ प्रभावकारी

उदयपुर । उदयपुर जिल्लाको मेरुदण्डको रुपमा रहेको मदन भण्डारी लोकमार्गमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘शुभयात्रा अभियान’बारे शुक्रबार समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अभियानले सडक सुरक्षा क्षेत्रमा पुर्‍याएको प्रभाव, दुर्घटना न्यूनीकरणमा खेलेको भूमिका तथा आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले जिल्लाभित्रको ट्राफिक अवस्था, सडकको जोखिम क्षेत्र तथा पछिल्लो दुर्घटनाका तथ्यांकसहित प्रस्तुती दिएका थिए । प्रस्तुत तथ्यांक अनुसार गत साउनदेखि वैशाखसम्म उदयपुरमा विभिन्न प्रकारका ४५४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ५ जनाको मृत्यु, २ सय ४२ जना गम्भीर घाइते र ६ सय ३२ जना सामान्य घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

त्यस्तै, दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर संलग्न रहेको देखिएको छ । तथ्यांक अनुसार उक्त अवधिमा ५६९ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् । यसले जिल्लामा दुईपाङ्ग्रे सवारी साधन सबैभन्दा बढी जोखिममा रहेको संकेत गरेको सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा ‘शुभयात्रा अभियान’की अभियान्ता रमा मगरले अभियान सञ्चालनको उद्देश्य, सडकमा प्रत्यक्ष जनचेतना फैलाउँदै गरिएको काम तथा अभियानबाट प्राप्त उपलब्धिबारे छुट्टै प्रस्तुतीकरण राखेकी थिइन् । स्थानीय नागरिकको सक्रिय सहभागिताले अभियान प्रभावकारी बन्दै गएको उनको भनाइ थियो ।

अन्तरक्रियामा सहभागी स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुले अभियानको खुलेर प्रशंसा गर्दै यसलाई जिल्लाभर विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरुले ‘सडकमा सचेतना नै सबैभन्दा ठूलो सुरक्षा’ भएको उल्लेख गर्दै शुभयात्रा अभियानले समुदायस्तरमै सकारात्मक प्रभाव पारेको बताएका थिए ।

उपस्थित वक्ताहरुले मदन भण्डारी लोकमार्गमा पछिल्लो समय बढ्दो सवारी चाप, तीव्र गति, लापरवाही र सडक अनुशासनको कमीका कारण दुर्घटना बढिरहेको उल्लेख गर्दै सरकारी निकाय र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

गत वैशाख दोस्रो सातादेखि स्थानीय रमा मगर, कर्ण सुनाम, दुर्गानन्द चौधरी, रुपा राई, रत्ना तामाङ, जानुका कार्की लगायतका स्थानीय युवाहरुले ‘सुरक्षित सडक अभियान उदयपुर’अन्तर्गत ‘शुभयात्रा अभियान’ सञ्चालन गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा उदयपुरगढी गाउँपालिका वडा नं. ७ को समन्वयमा अत्यधिक दुर्घटना हुने अँधेरी क्षेत्रबाट सुरु गरिएको अभियान अहिले मदन भण्डारी लोकमार्गका अन्य जोखिमपूर्ण क्षेत्रमा समेत विस्तार गरिएको छ । यसअघि अभियान अन्तर्गत उदयपुरका महिला बाइक राइडरहरुको समूहले गाईघाटदेखि कटारीसम्म करिब ५० किलोमिटर मोटरसाइकल यात्रा गर्दै सुरक्षित यात्रासम्बन्धी जनचेतनामूलक सन्देश समेत प्रवाह गरेका थिए ।

सडक दुर्घटनाले मानवीय क्षतिसँगै सामाजिक र आर्थिक असर समेत गहिरो बनाइरहेका बेला ‘शुभयात्रा अभियान’ जस्ता समुदायकेन्द्रित सचेतनामूलक कार्यक्रमहरुले सुरक्षित यात्राको संस्कार निर्माणमा महत्वपूर्ण भूमिका खेल्न थालेको सहभागीहरुको निष्कर्ष रहेको थियो ।