२ भदौ २०८३, मंगलबार 1787100745
समाचार

संसद् कुनै दलको सुविधाका लागि होइन : खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले लामो समय संसद् (प्रतिनिधिसभा) बैठक स्थगित गरिएको भन्दै प्रश्न गरेकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उनले संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य मागेकी हुन्।

उनले भनेकी छन्, ‘विगत पाँच दिनसम्म संवादको लागि कुनै आव्हान भएन।  समाधान खोज्ने कुनै पहल भएन। बरु सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको गम्भीर आशंका पैदा भएको छ।’ यसबिचमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहजीकरण गरिएको उनको आरोप छ।

उनले अगाडि भनेकी छिन्, ‘नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि होइन जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो। लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक छ।’

लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक रहेको उनले बताइन्। गत मंगलबार बसेको संसद् बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो।