१० श्रावण २०८३, आइतबार 1785106170
समाचार

रहेनन् पूर्व सांसद मङ्गलप्रसाद गुप्ता

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको उपचारका क्रममा निधन भएको छ।

भारतको दिल्लीस्थित मेदन्ता अस्पतालमा उपचाररत रहेका गुप्ताको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । गुप्ता केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए।

थप उपचारका लागि उनलाई भारत लगिएको थियो। तर उपचारकै क्रममा अचानक हृदयघात भएपछि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

पूर्व सांसद गुप्ताको निधनसँगै कपिलवस्तु जिल्लासहित समग्र राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको वातावरण छाएको छ। सरल, मिलनसार र जनप्रिय नेताका रूपमा परिचित गुप्ता लामो समयदेखि राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए।

उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं। ३ बाट सांसद निर्वाचित भएका थिए । उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।