१ असार २०८३, सोमबार 1781509236
Banner

अमेरिकामा विमान दुर्घटना, पाइलटसहित १२ जनाको मृत्यु

मिसौरी। अमेरिकाको मिसौरी राज्यमा एक स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १२ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा ११ जना स्काईडाइभर र एक जना पाइलट रहेका छन्। बोट्स काउन्टी आपतकालीन व्यवस्थापनका प्रवक्ताका अनुसार एक स्काईडाइभिङ कम्पनीले भाडामा लिएको उक्त विमानले आइतबार स्थानीय समयअनुसार बिहान करिब ११ बजेर २० मिनेटमा उडान भरेको थियो। उडान भरेलगत्तै पर्याप्त उचाइ लिन नसकेपछि विमानले देब्रेतिर तीव्र मोड लिएको र बट्लर मेमोरियल विमानस्थलबाट करिब दुई सय यार्ड टाढा दुर्घटनाग्रस्त भएको प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन्। विमानमा सवार सबै १२ जनाकै घटनास्थलमै मृत्यु भएको उनले पुष्टि गरे।

बोट्स काउन्टीका शेरिफ चाड एन्डरसनले दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा यस घटनालाई ठुलो संख्यामा मानवीय क्षति भएको एक दुःखद दुर्घटनाका रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए। शेरिफले यो कुनै व्यावसायिक यात्रुबाहक विमान नभएर स्थानीय विमानस्थलबाटै उडान भरेको एउटा स्थानीय विमान मात्र रहेको स्पष्ट पारे। संघीय उड्डयन प्राधिकरणका अनुसार उक्त विमान ुप्यासिफिक एरोस्पेस पी७५०ु मोडलको थियो र विमानस्थलबाट प्रस्थान गर्ने क्रममै दुर्घटनामा परेको हो। एजेन्सी