११ आश्विन २०८३, आइतबार 12:29 pm
Banner

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रा सकियो

काठमाडौं  : मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त पारेको हो। लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टरफाइनल खेल्न लस एन्जलस रंगशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नेछन्। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाए; डानी ओल्मोको पासमा वान-अन-वानको स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ, स्पेनकै एउलेक्स बाएनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोलकिपर डिओगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।

पोर्चुगलका तर्फबाट क्रिस्टियानो रोनाल्डोले लगातार दबाब बनाएका थिए भने नुनो मेन्डेसको प्रहार डिफ्लेक्ट हुँदै क्रसबारेमा ठोकिएपछि पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। पहिलो हाफ गोलरहीत बराबरीमा सकियो। 

दोस्रो हाफमा दुवै टोली निकै सचेत देखिएका थिए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिँदा, ९०+१ मिनेटमा स्पेनका दुई सब्सटिच्युट खेलाडीले चामत्कारिक मुभ बनाए। फेरान टोरेसको पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले शक्तिशाली र सटिक प्रहारमार्फत बललाई जाली चुमाए र स्पेनलाई १-० को नाटकीय जित दिलाए।

खेलको अन्तिम सिट्ठी बजेलगत्तै विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम लागेको छ। ४१ वर्षीय रोनाल्डोले खेलअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।

रोनाल्डोको विश्वकपमा २७ खेल खेलेका छन् । भने कुल गोल ११ गरेका छन्।  उनी लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी हुन्।