७ श्रावण २०८३, बिहिबार 1784831952
Banner

आत्महत्याको सोचमा रहेका युवालाई गगन थापाको आग्रह– त्यसो नगर साथी, हामी छौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कुनै पनि कारणले आत्महत्याको सोचमा पुगेका युवालाई त्यसो नगर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भएका नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गरे ।

उनले भने, ‘यतिबेला म नेपाली कांग्रेसको सभापतिको हैसियतले भन्न चाहन्छु, कहीँ कतै कुनै युवकले, कुनै नेपालीले आर्थिक, सामाजिक वा जुनसुकै कारणले आफ्नो जीवन नै अन्त्य गरौँ भन्ने सोच बनाइरहेको छ भने म कांग्रेसको सभापतिको तर्फबाट भन्न चाहन्छु– त्यसो नगर साथी, हामी छौँ । हामी सम्हाल्छौँ । मिलेर गरौँ । एक्लै नसकिएला, मिलेर सक्छौँ । हामी त्यति तल पनि गइसकेका छैनौँ । हामी सक्छौँ भन्ने कुरा म मात्र होइन, सिंगो नेपाली कांग्रेस भन्न चाहन्छ । हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी यही हो ।’

थापाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नागरिकको पीडा सुन्नु र त्यसमा साथ दिनुलाई राजनीतिको मूल जिम्मेवारीका रूपमा लिएको स्मरण गरे ।

उनले भने, ‘बीपीको लागि नागरिकको कुरा सुन्ने कुरा कुनै अतिरिक्त काम थिएन, यो त राजनीतिको मूल काम थियो । बीपी कोइरालाका निम्ति जहाँ जनताको दुःख छ, त्यो दुःखमा नपुग्ने कांग्रेस, कांग्रेस नै होइन । भोट मात्र माग्ने कांग्रेस कसरी कांग्रेस हुन्छ ? दुःखको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ । पीडाको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ । बीपी कोइरालाका निम्ति यही सबैभन्दा ठूलो कुरा थियो ।’

थापाले कांग्रेसले महासमिति बैठक र विशेष महाधिवेशनबाट राजनीतिक गतिविधिसँगै समाजसेवालाई पनि प्राथमिकता दिने नीति पारित गरिसकेको उल्लेख गरे ।

उनका अनुसार कांग्रेसले अब ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान सुरु गर्दै नागरिकको कल्याण र अधिकारका पक्षमा केन्द्रित भएर काम गर्नेछ ।

उनले भने, ‘हामीले पार्टीको महासमिति बैठकबाट प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक काम र ५० प्रतिशत काम बृहत्तर समुदायका लागि गर्नुपर्ने निर्णय गरेका छौँ । विशेष महाधिवेशनबाट राष्ट्रिय पुनर्जागरण अभियान पारित गरेका छौँ । यही पृष्ठभूमिमा बीपीलाई स्मरण गर्दै जरा अभियान सम्पन्न गरी आजदेखि ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान प्रारम्भ गरेका छौँ । यसको साझा उद्देश्य नागरिकको कल्याणमा काम गर्नु र नागरिकको हकको पक्षमा उभिनु हो ।’