७ श्रावण २०८३, बिहिबार 1784831769
राजनीति

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलहरूमाथि योजनाबद्ध रूपमा घृणा फैलाउने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले राजनीतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणाली र राजनीतिक दलप्रति अविश्वास सिर्जना गर्ने गतिविधिको सशक्त प्रतिवाद गरिने चेतावनी दिए । लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेका राजनीतिक दललाई कमजोर बनाउने र जनतामाझ दलविरोधी मनोविज्ञान निर्माण गर्ने प्रयास भइरहेको उनको संकेत थियो ।

अध्यक्ष ओलीले जनअधिकारको स्थापना तथा लोकतान्त्रिक आन्दोलनको नेतृत्व राजनीतिक दलहरूले नै गरेको उल्लेख गर्दै दलहरूको योगदानलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए ।

अध्यक्ष ओलीले पछिल्लो समय नयाँ र पुराना दलको नाममा भइरहेको बहसले समाजमा अनावश्यक विवाद, विभाजन र द्वन्द्व निम्त्याउने खतरा रहेको पनि औँल्याए । राजनीतिक प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भए पनि दलहरूबीच द्वेष फैलाउने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले राजनीतिक दलहरू समयअनुकूल परिवर्तन र आत्मसुधार गर्न सक्षम रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि संघर्ष गरेर अघि बढ्ने क्षमता दलहरूसँग रहेको स्पष्ट पारे ।