रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ । गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो ।
बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक व्यक्तिले आत्मीयता देखाउँदै अँगालो हाल्ने बहानामा सांसद पौडेलमाथि कालो मसी प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
स्थानीयका अनुसार घटनास्थलमा रहेका केही व्यक्तिको हातमा रातो झण्डा र पर्चा देखिएको थियो । उनीहरूले आफूहरू ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको दाबी गरिएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
घटनालगत्तै सांसदका सहयोगी र स्थानीय बासिन्दाले संलग्न व्यक्तिहरूलाई पछ्याउने प्रयास गरेका थिए । तर अँध्यारोको फाइदा उठाउँदै उनीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले सांसद पौडेलमाथि कालोमोसो नदलिएको, पछाडिबाट अपरिचित व्यक्तिले कालो मसी प्रहार गरेर फरार भएको बताए ।
एसपी रिजालका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

