काठमाडौँ । कोसी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बिचमा सरकार बनाउने अन्तिम तयारी भएपछि कांग्रेस अन्ततः सरकार छाड्ने तयारीमा पुगेको हो।
एमाले र कांग्रेस गठबन्धनमा कोसी सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक बुधबारै बस्दै छ।
त्यसपछि कांग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए। पार्टीले आफ्ना मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिएको नेपालखबरलाई बताए।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा सहभागी छन्।
२०८१ भदौ २८ गते कांग्रेस र एमालेबिचको समीकरणमा कोसी सरकार बनेको थियो। २०८२ पुस २२ गते दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनीहरू मन्त्री पदमा नियुक्त भएका थिए।
एमाले र नेकपाबीच शुक्रबारसम्म मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको छ।

