२७ भदौ २०८३, शनिबार 1789233049
Banner

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गरिएको छ । 

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेका हुन् । साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत १६ जना एक–एक लाख विजेता र १ जना बम्पर उपहार विजेता बनेका छन् । जसमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । 

विभागका अनुसार करदाता प्रोत्साहन पुरस्कार योजनामा सहभागी हुने उपभोक्ताको सङ्ख्या सुरुआती महिनामै उल्लेख्य रूपमा बढेको छ।

विभागका अनुसार पछिल्लो १७ दिनको अवधिमा उपहार योजनामा सहभागी कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको थियो। यही कारोबारमध्येबाट आज १७ जना विजेता छनोट गरिएका हुन्।

प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कार रकममा कर कट्टी गरेपछि विजेताको हातमा १ लाख रुपैयाँ पर्नेछ। बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने विभागले जनाएको छ।

विभागले उपभोक्तालाई हरेक कारोबारमा बिल लिन प्रोत्साहित गर्दै आएको छ। बिल लिने उपभोक्ताको सहभागिता बढेसँगै करदाता प्रोत्साहन पुरस्कार योजनामा समेत कारोबारको सङ्ख्या उल्लेख्य रूपमा बढेको विभागको तथ्यांकले देखाएको छ।