काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।
ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो । ग्रुपले यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ ।
विपद्का बेला निजी क्षेत्रले पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्ने भन्दै गोल्छा ग्रुपले सहयोग घोषणा गरेको हो । ग्रुपले बाढी प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ र ऐक्यबद्धता रहेको जनाएको छ ।

