१२ भदौ २०८३, शुक्रबार 1787916466
समाचार

वर्षा र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ ।

नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक पूर्ण रूपमा ठप्प हुनुका साथै नदी तटीय तथा जोखिमयुक्त सडकखण्डहरूमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

राजधानी जोड्ने मुख्य धमनी मानिने पृथ्वी राजमार्गका विभिन्न स्थानमा दुवैतर्फको आवागमन ठप्प बनेको छ । धादिङको बेनिघाट रोराङस्थित ज्वाङखोला, गजुरीको बिहानी पम्प र गल्छीको बैरेनीमा सडकमा खसेको लेदो पन्छाउने काम जारी रहे पनि गजुरीको गलौदीमा भने मेसिन पुग्न नसक्दा पन्छाउन सकस भइरहेको छ । साथै, जहरेखेत र बाङ्गेमोडमा पनि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

रसुवा जिल्लातर्फबाट आएको अप्रत्याशित बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गको गल्छी-स्याफ्रुबेंसी, मुग्लिन-नारायणघाट सडकखण्डलगायत त्रिशूली नदी आसपासका सडकहरूमा अर्को आदेश नभएसम्मका लागि सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । रसुवाकै उत्तरगया गाउँपालिकास्थित खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट भीषण कटान गरेपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ ।

पूर्वी तथा मध्य पहाडी जिल्लाहरू जोड्ने सडकहरूको अवस्था पनि उस्तै छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारीको आवागमन रोकिएको छ भने दिउँसोको समयमा मात्र सवारी सञ्चालन गर्न दिइएको छ ।

कान्ति लोकपथमा वर्षाका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म र नुवाकोटको टोखा-छहरे सडकमा राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

उता इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण ठप्प बनेको छ भने वैकल्पिक बाटोमार्फत यात्रा गराउन प्रहरीले सहजीकरण गरिरहेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

रुकुम पश्चिमको रिजेगार्ड खोलामा लेदो र ढुङ्गा-माटो खसेर भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड तथा रोल्पाको कुङ्ग्रीमा गएको पहिरोका कारण शहीद राजमार्ग पूर्ण रूपमा ठप्प बनेका छन् । प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।