१४ भदौ २०८३, आइतबार 1788120199
अर्थ

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। कम्पनीका अनुसार उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल लाइफले विपद्को कठिन समयमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने जनाएको छ।

नेपाल लाइफले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेको छ।