१४ भदौ २०८३, आइतबार 1788120340
अर्थ

बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत अर्घाखाँची सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको हो। कम्पनीले उक्त सहयोगबाट प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

अर्घाखाँची सिमेन्टले आधिकारिक सूचना जारी गर्दै बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कम्पनीले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै बाढीपीडितसँगै रहेको जनाएको छ।