१६ भदौ २०८३, मंगलबार 1788270417
राजनीति

रसुवा बाढीबारे प्रतिनिधि सभामा सभामुखले विशेष प्रस्ताव पेस गर्ने

काठमाडौँ : रसुवाको विनाशकारी बाढी र यसले पुर्‍याएको अपूरणीय क्षतिबारे प्रतिनिधि सभाको भोलि (बुधबार) बस्ने बैठकमा विशेष प्रस्ताव प्रस्तुत गरिने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बाढीको विपद्का सम्बन्धमा सदनमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् ।

भदौ १० गते सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी बुधबार दिउँसो १ बजेका लागि बोलाएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मुलुकमा हुने यस्ता ठूला र संवेदनशील विपद्का घटनामा सभामुखको तर्फबाट विशेष प्रस्ताव प्रस्तुत गर्ने संसदीय प्रचलन रहिआएको छ । त्यसपछि बुधबारको बैठकमा दलीय आधारमा धारणा राख्ने र सरकारको तर्फबाट बाढी, उद्धार र राहतका विषयमा आधिकारिक जानकारी दिने तयारी छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढीमा परेर हालसम्म ९८७ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार बाढीमा परेर अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् भने २७९ जना घाइते भएका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य र प्रभावित क्षेत्रमा राहत वितरणको काम जारी छ ।