काठमाडौं । नेपालको छोचेन खोलामा बाढीपछि बनेको प्रभाव क्षेत्र आसपासका हिमचट्टान तथा हिमखण्ड अझै भत्किन सक्ने जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस क्षेत्रमा थप हिमचट्टान खसेमा तल्लो तटीय क्षेत्रमा पुनः जोखिम निम्तिन सक्ने भन्दै अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको हो ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीपछि सम्भावित जोखिमको मूल्याङ्कनलाई चीनले निरन्तरता दिएको छ । यस क्रममा जलस्रोतसम्बन्धी विज्ञ तथा प्राविधिक टोलीले विभिन्न माध्यमबाट प्रभावित क्षेत्रको अवस्था अध्ययन गरिरहेका छन् ।
मन्त्रालयका अनुसार हालै गरिएको रिमोट सेन्सिङ तस्वीरको तुलनात्मक अध्ययनमा ग्यिरोङ साङ्पो नदी बेसिनमा पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमतालहरू हालसम्म सामान्य र स्थिर अवस्थामा रहेको जनाइएको छ ।
मंगलबार नेपाली समयअनुसार बिहान ५ः४५ बजे लिइएको ड्रोन तस्वीरले भने छोचेन खोलामा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको अधिकांश भाग बाहिरिइसकेको देखाएको छ । पानीको निकासपछि तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
तर पानीको सतह घटे पनि जोखिम पूर्ण रूपमा टरेको भने छैन । प्रभाव क्षेत्र वरपर रहेका हिमनदी तथा हिमचट्टान अझै अस्थिर अवस्थामा रहेकाले कुनै पनि बेला भत्किन सक्ने सम्भावना रहेको मन्त्रालयको भनाइ छ ।
यसै कारण चीनले छोचेन खोला र आसपासको क्षेत्रमा सम्भावित हिमचट्टान भत्किने अवस्था, नदीको बहाव तथा हिमतालको गतिविधिमाथि निगरानी जारी राखेको छ । पछिल्लो ड्रोन तस्वीरलाई समेत जोखिम मूल्याङ्कनका लागि प्रयोग गरिएको चिनियाँ पक्षले जनाएको छ।

