२३ भदौ २०८३, मंगलबार 1788875901
अर्थ

बाढी प्रभावितका लागि वर्ल्डलिंकको १ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् । कम्पनीका अनुसार विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको हो ।

हालैको बाढीका कारण वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीको आफ्नै संरचनामा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको वर्ल्डलिंकले जनाइएको छ ।

पूर्वाधारमा क्षति भए पनि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन बाढी आएको तीन दिनभित्रै नेटवर्क पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ । सडक, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुगेको अवस्थामा पनि प्राविधिक टोलीहरू नेटवर्क मर्मत तथा पुनःस्थापनामा खटिएको वर्ल्डलिंकले जनाएको छ । कम्पनीका अनुसार विपद्का बेला इन्टरनेट सेवा सूचना आदानप्रदान, उद्धार तथा राहत कार्यको समन्वय र आपत्कालीन सञ्चारका लागि महत्वपूर्ण हुने भएकाले सेवा निरन्तर राख्नुलाई प्राथमिकता दिइएको हो ।