२३ भदौ २०८३, मंगलबार 1788901539
Banner

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब मौज्दात

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ।

अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते (सेप्टेम्बर ८) साँझ ५ बजेसम्म कोषका ९ वटा नेपाली रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र २ वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४ सय ७१ अमेरिकी डलर मौज्दात रहेको छ। डलरलाई प्रतिअमेरिकी डलर १५० रुपैयाँ ८८ पैसा का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो।रसुवा–भोटेकोशी बाढीपछि कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४ सय २३ अमेरिकी डलर सङ्कलन भएको छ। यो रकम विपद्अघिको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको हो।

भदौ २३ गते मात्रै कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यसअघि राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो।

अर्थ मन्त्रालयले प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

मन्त्रालयले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आधिकारिक पोर्टल donate.gov.np मार्फत योगदान गर्न आग्रह गरेको छ।